काठमाडौँ– साझा पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको संकटका बीच देशभरका विपन्न तथा न्यून आय भएका नागरिकहरुको जीवनयापन अत्यन्तै कष्टकर बन्दासमेत सरकार गम्भीर नभएको जनाएको छ।
दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्दा पनि सरकार कमिसन, ठेक्कापट्टा र शक्ति संघर्षमै लागेको साझा पार्टीको भनाइ छ।
‘कयौँ नागरिक खान नपाएर मर्दैछन्, विरामीहरू अस्पताल नपाएर मर्दैछन्। कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदैछ। यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ’, साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतः व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो? ‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि हुन्? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरी कारूणीक दृष्यहरू किन देखिइरहेका छन्?’, साझा पार्टीको प्रश्न छ।
सम्भव भएका सबै सरकारी संयन्त्र परिचालन गरेर यस्तो अवस्थालाई तुरून्त सम्वोधन गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ।